कार्तिक १३, सोलुखुम्बु । अब नेपाली नागरिकले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिनकै लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । नयाँ व्यवस्थाअनुसार पुरानाे नागरिकता लिँदाका बखत आवश्यक प्रक्रिया पूरा गरेका नागरिकले देशका जुनसुकै जिल्लाबाट नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहजै लिन सक्ने भएका छन् ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार अब सोलुखुम्बु जिल्ला स्थायी ठेगाना भई अन्य ७६ जिल्लामा बसोबास गर्ने सोलुखुम्बुका नागरिकले पनि आफू बसिरहेको जिल्लाबाट केही मिनेट भित्रै नागरिकताको प्रतिलिपि लिन सक्नेछन् । सूचनाअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बसोबास गर्ने सोलुखुम्बुका नागरिकले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन् भने अन्य ७३ जिल्लामा बसोबास गर्ने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सेवा लिन सक्नेछन्।
यद्यपि, प्रतिलिपि प्राप्त गर्न नागरिकताको विवरण केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा अद्यावधिक भएको हुनुपर्ने, राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र वा नम्बर प्राप्त गरेको हुनुपर्ने र नागरिकताको निस्सा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरण हुबहु भिडेको अवस्थामा नागरिकताको प्रतिलिपि माग गर्दा स्थानीय तहको वा सिफारिससमेत आवश्यक नपर्ने सूचनामा उल्लेख छ । नागरिकताको प्रतिलिपि प्राप्त गर्न १० रुपैयाँको हुलाक टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने पनि जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
नयाँ व्यवस्थाले रोजगारी, अध्ययन तथा विभिन्न कारणले आफ्नो गृहजिल्लाभन्दा बाहिर बसोबास गर्दै आएका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन सहज हुने अपेक्षा गरिएको छ।











Discussion about this post