कातिक २३, सोलुखुम्बु । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज चौथो दिन गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई गौमाताका रूपमा सम्मान गर्दै धार्मिक विधिअनुसार पूजा आराधना गर्ने परम्परा रहेको छ। हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा लिने गरिन्छ।
गाईको दूध आमाको दूधसरह पोषिलो हुने धार्मिक तथा सामाजिक विश्वासका कारण गाईलाई आमाका रूपमा सम्मान गर्ने चलन छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक, सांस्कृतिक तथा व्यवहारिक रूपमा यसको विशेष महत्त्व रहेको छ। गाईपूजाका अवसरमा बिहानै गाईलाई स्नान गराई फूलमाला, टीका लगाएर पूजा गर्ने तथा विभिन्न मीठा परिकार खान दिने परम्परा छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्ने परम्परा रहेको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताउनुभएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक तथा संस्कारजन्य कार्यमा गाईदान गर्ने परम्परासमेत पालना गर्दै आएका छन्।
पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको पनि गौतमले बताउनुभएको छ। गाईलाई नेपालले राष्ट्रिय जनावरका रूपमा समेत सम्मान दिएको छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराएर स्वर्गसम्म पुर्याउने मान्यता रहिआएको छ।
यसरी गाईपूजा केवल धार्मिक आस्थासँग मात्र नभई गाईप्रतिको सम्मान, संरक्षण र मानव जीवनमा यसको योगदानको स्मरण गर्ने पर्वका रूपमा समेत लिइन्छ।










Discussion about this post