कातिक २२, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दीपावली तथा छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा मनाउन सम्पूर्ण जिल्लावासीहरूमा विशेष अनुरोध गरेको छ । चाडपर्वका समयमा हुन सक्ने सम्भावित दुर्घटना तथा अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै प्रहरीले विभिन्न सुरक्षा सावधानीहरू अपनाउन अपिल गरेको छ । प्रहरीले चाडपर्वका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ ।
साथै, पसल तथा व्यवसायहरू पनि राति १० बजेभित्रै बन्द गरी सुरक्षित रूपमा घर फर्कन आग्रह गरिएको छ । सार्वजनिक सुरक्षा र शान्ति कायम राख्न पटका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थको प्रयोग नगर्न, जुवा–तास नखेल्न र नखेलाउन प्रहरीले कूटनैतिक तथा सचेतनात्मक अनुरोध गरेको छ । त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएमा कडा कारबाही हुनेतर्फ सचेत गराउँदै ट्राफिक नियमको पूर्ण पालना गर्न जोड दिइएको छ ।
घर तथा पसल खाली छोडेर कतै जाँदा ढोका, झ्याल तथा ताल्चा राम्रोसँग लगाएर सुरक्षामा विशेष ध्यान दिन र छठ पर्वका क्रममा नदी, पोखरी तथा जलाशयहरूमा पूजाआजा गर्दा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ । चाडपर्वको समयमा झैझगडा, होहल्ला तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न प्रहरीको अनुरोध छ । यदि समाजमा कुनै पनि किसिमका आपराधिक, अवाञ्छित वा शंकास्पद गतिविधिहरू देखिएमा तत्काल नजिकैको प्रहरी कार्यालयमा खबर गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले समस्त जिल्लावासीहरूसँग अपिल गरेको छ ।










Discussion about this post