सोलुखुम्बु, २२ कात्तिक । सोलुखुम्बुको साहित्यिक इतिहासको संरक्षण, साहित्यिक प्रतिभाको प्रोत्साहन तथा उच्च शिक्षामा विद्यार्थीको पहुँच विस्तार गर्ने उद्देश्यले सोलुखुम्बु इनिसिएटिभले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
इनिसिएटिभले आगामी कात्तिक २८ गते शनिबार नेचासल्यान गाउँपालिका–४ स्थित चेतना विस्तार सार्वजनिक पुस्तकालयको सभाहलमा मुक्तिनाथ साहित्य सम्मान–२०८३, आशुकविता सिर्जना प्रतियोगिता तथा नेपाल आईडी शैक्षिक छात्रवृत्ति वितरण कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रथम कवि स्वर्गीय मुक्तिनाथ कट्टेलको स्मृतिमा स्थापित मुक्तिनाथ साहित्य सम्मान–२०८३ साहित्यकार डा. मुलीवीर राई र हरि कट्टेललाई प्रदान गरिने भएको छ । सम्मानित दुवै स्रष्टालाई जनही आठ हजार ८४८ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने इनिसिएटिभका अध्यक्ष रोहितप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने तथा जिल्लाको साहित्यिक इतिहास संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त सम्मान गत वर्षदेखि प्रदान गर्न थालिएको हो । सम्मानको पहिलो संस्करण २०८२ मा साहित्यकार डा. रेणुका सोलुलाई प्रदान गरिएको थियो ।
त्यसैगरी, नयाँ साहित्यिक प्रतिभाको पहिचान र सिर्जनशीलता अभिवृद्धिका लागि आशुकविता सिर्जना प्रतियोगिता सञ्चालन गरिने भएको छ । प्रतियोगितामा सहभागीलाई कार्यक्रमस्थलमै कविताको शीर्षक उपलब्ध गराइने र निर्धारित समयभित्र कविता सिर्जना गर्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष बास्तोलाले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः छ हजार, चार हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी, तीन जना सहभागीलाई जनही एक हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार तथा सबै सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैबीच, जिल्लाबाट कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल आईडी शैक्षिक छात्रवृत्ति कार्यक्रमअन्तर्गत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । आवेदनको मूल्याङ्कन गरी छनोट भएका विद्यार्थीलाई जनही आठ हजार ८४८ रुपैयाँ प्रदान गरिनेछ ।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिराज भण्डारी प्रमुख अतिथि तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार कात्तिक २८ गते बिहान ११ बजेदेखि आशुकविता प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुकले सोही दिन बिहान १० बजेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ । औपचारिक कार्यक्रम भने दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
औपचारिक कार्यक्रममा स्रष्टाहरूबाट कविता वाचन, प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण, शैक्षिक छात्रवृत्ति वितरण तथा मुक्तिनाथ साहित्य सम्मान प्रदान गरिनेछ । अतिथिहरूको सम्बोधनपछि कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।
साहित्यिक सिर्जना, प्रतिभा सम्मान र शैक्षिक प्रोत्साहनलाई एकैसाथ अघि बढाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमले जिल्लाको साहित्यिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ










Discussion about this post