कार्तिक २१, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुमा सुरक्षित प्रसूति सेवाप्रति महिलाको आकर्षण बढ्दै गएको छ। अस्पतालमा उपलब्ध सेवा उपयोग गर्ने महिलाको सङ्ख्या एक वर्षको अवधिमा उल्लेख्य रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १८३ जना महिलाले अस्पतालमै प्रसूति सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो सङ्ख्या ११३ मात्र थियो। यसरी एक वर्षमा अस्पतालमा प्रसूति गराउने महिलाको सङ्ख्या ७० ले बढेको हो।
प्रसूति सेवाको विवरण हेर्दा आर्थिक वर्ष २०८२/८३ मा सेवा लिएका महिलामध्ये ५६ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। त्यस्तै, बच्चा उल्टो अवस्थामा रहेका पाँचवटा जटिल प्रसूति पनि अस्पतालमै सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ। तर, थप जटिलता तथा उच्च जोखिम देखिएका छ जना गर्भवती महिलालाई भने थप उपचारका लागि अन्य सुविधासम्पन्न अस्पतालमा पठाइएको थियो।
अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन आउने महिलालाई प्रोत्साहन गर्न सरकारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। अस्पताल प्रशासनका अनुसार गर्भावस्थामा तोकिएका सबै चरणको नियमित जाँच पूरा गरी अस्पतालमै प्रसूति गराउने महिलाले तीन हजार आठ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउँछन्।
आवश्यक सबै चरणको जाँच पूरा नगरी सीमित पटक मात्र स्वास्थ्य संस्थामा जाँच गराउने महिलाका लागि भने तीन हजार रुपैयाँ भत्ताको व्यवस्था छ। पछिल्लो तथ्याङ्कले जिल्ला अस्पताल फाप्लुबाट प्रसूति सेवा लिने महिलाको सङ्ख्या पुनः बढेको देखाएको छ। यसले जिल्लाभित्रै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको भूमिका र स्थानीयस्तरमा मातृ स्वास्थ्य सेवाको पहुँच विस्तारको अवस्थालाई समेत उजागर गरेको छ।










Discussion about this post