कार्तिक २०, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले नेपालीहरुको दोस्रो महान चार्ड शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वलाई सभ्य, मर्यादित र सुरक्षित वातावरणमा मनाउन जिल्लावासीसँग आग्रह गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै भैलोलगायतका सांस्कृतिक कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
यस्तै शान्ति सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा सामाजिक सद्भाव कायम राख्न देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित बनाउन नौबुँदे आचारसंहिता पालना गर्न भनिएको छ । जसअनुसार चाडपर्वमा दियो, मैनबत्ती तथा विद्युतीय बत्ती प्रयोग गर्दा आगलागीबाट जोगिन सावधानी अपनाउन, भुइँचम्पा, रकेट तथा पटकाजस्ता विस्फोटक पदार्थ ओसारपसार, बिक्री–वितरण र प्रयोग नगर्न÷नगराउन आग्रह गरिएको छ । त्यसैगरी, देउसी–भैलोलाई मौलिक संस्कृति र परम्पराको संरक्षण हुने गरी मर्यादित रूपमा सञ्चालन गर्न, मादक पदार्थ सेवन, होहल्ला, झैझगडा तथा जबर्जस्ती चन्दा वा दक्षिणा असुल नगर्न सचेत गराइएको छ।
अस्पताल, विद्यालय तथा स्वास्थ्य संस्थाजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउँदै ध्वनि प्रदूषण नगर्न र कुनै पनि जातजाति, धर्म, भाषा तथा समुदायलाई आक्षेप पुग्ने किसिमका अपमानजनक गीत, नारा र गतिविधि नगर्न भनिएको छ । सवारी आवागमन र पैदलयात्रीलाई अवरोध नपुग्ने गरी कार्यक्रम गर्न तथा निजी घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा कार्यक्रम गर्दा सम्बन्धित व्यक्तिको पूर्वसहमति लिनुपर्नेछ ।
यसैगरी, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न र ट्राफिक नियमको पूर्ण पालना गर्न निर्देशन दिइएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि गर्ने र गुणस्तरहीन वस्तु बिक्री–वितरण गर्नेमाथि कडा निगरानी राखिने जनाइएको छ । देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब तथा सङ्घसंस्थाले आवश्यक समन्वयका लागि सम्बन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आग्रह गर्नुभएको छ ।










Discussion about this post