कार्तिक २०, सोलुखुम्बु । ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको ठहर गर्दै सम्बन्धित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार भत्ता वितरणका क्रममा आफ्नै औँठाछाप प्रयोग गर्ने, दोहोरो नाम समावेश गर्ने तथा मृत्यु भइसकेका र बसाइँसराइ गरेका व्यक्तिलाई समेत भत्ता वितरण गरेको देखाएर सरकारी रकम हिनामिना गरिएको पाइएको छ । यस प्रकरणमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्तासहित वडाध्यक्ष शुकवीर तामाङलगायत पाँच जनालाई प्रतिवादी बनाइएको छ ।
आयोगले प्रतिवादीहरूबाट ३१ लाख ६७ हजार दुई सय रुपैयाँ बिगो कायम गरी सोहीबराबरको जरिवाना, कैद तथा बिगो असुलउपर गर्न मागदाबी गरेको जनाएको छ । त्यसैगरी, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ११ बमोजिमसमेत सजाय हुन माग गरिएको आयोगले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गका नागरिकलाई प्रदान गरिने महत्त्वपूर्ण सरकारी सुविधा हो । यस्तो संवेदनशील कार्यक्रमको रकममा अनियमितता भएको आरोपमा आयोगले कानुनी प्रक्रिया अघि बढाएको हो ।











Discussion about this post