कातिक २१, सोलुखुम्बु । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई बिहानै मीठा मीठा खानेकुरा दिएर पूजा आराधना गर्दै यो पर्व मनाउने परम्परा छ। सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार आज शनिबार पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो।
धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने परम्परा रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर पुर्याओस् भन्ने विश्वासका साथ आजका दिन कागलाई मीठा खानेकुरा दिएर खुसी पार्ने गरिन्छ। लोक व्यवहारमा काग घरको वरपर आएर कराएमा शुभ समाचार ल्याएको विश्वास गर्दै ‘शुभ बोल, शुभ बोल’ भन्ने चलनसमेत छ। यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।
तिहार पर्व दुष्कर्म गर्नेलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने धार्मिक विश्वाससँग पनि जोडिएको छ। यम यातनाबाट मुक्तिको कामनासहित परिवारका सबै सदस्यका नाममा यमदीपदान गर्ने परम्परा भने शुक्रबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण दिशातर्फ फर्काएर दान गर्नुपर्ने मान्यता छ। यसरी दीपदान गर्दा यम यातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिनदेखि सुरु हुने यमपञ्चक शुक्रबार साँझदेखि नै आरम्भ भएको हो। यस्तै, धनधान्य र समृद्धिकी देवी लक्ष्मीलाई घरमा स्थिर राख्ने विश्वासका साथ गरगहना तथा तामाका भाँडाकुँडा किनेर मनाइने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको छ। धार्मिक मान्यताअनुसार यस दिन सुनचाँदीका गरगहना तथा भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मीको बास भइरहने विश्वास गरिन्छ।










Discussion about this post