कार्तिक २२, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–५, रुपाटारमा सम्पन्न खुला अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको पुरुषतर्फ भानुगङ्गा युवा क्लब कटहरे तथा महिलातर्फ रौतामाई गाउँपालिकाले उपाधि हात पारेका छन् । ताप्ली गाउँपालिकाको प्रायोजन, ताप्ली युवा तथा खेलकुद विकास समितिको सहकार्य र रुपाटार युवा समाजको आयोजनामा गत कात्तिक १९ गतेदेखि सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फको प्रतिस्पर्धामा भानुगङ्गा युवा क्लब कटहरेले प्रथम स्थान हासिल गर्दै एक लाख १० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै आयोजक ताप्ली गाउँपालिका द्वितीय हुँदै ५५ हजार रुपियाँ र रौतामाई गाउँपालिका तृतीय बन्दै २५ हजार रुपियाँ नगद पुरस्कार, शिल्ड तथा मेडल हात पार्न सफल भए ।
यसैगरी महिलातर्फको फाइनल खेलमा लिम्चुङबुङ गाउँपालिकालाई पराजित गर्दै रौतामाई गाउँपालिका च्याम्पियन बनेको छ । उपाधिसँगै रौतामाईले नगद ५१ हजार रुपियाँ प्राप्त गरेको छ । उपविजेता बनेको लिम्चुङबुङ गाउँपालिकाले ३१ हजार रुपियाँ र तृतीय स्थान हासिल गरेको ताप्ली गाउँपालिकाले १६ हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो।
रुपाटारस्थित ताप्ली गाउँपालिकाको खेलमैदानमा नकआउट प्रणालीका आधारमा सम्पन्न प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।










Discussion about this post