कातिक २२, सोलुखुम्बु । तिहारको दोस्रो दिन आज आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ। तिथिको घटबढका कारण यस वर्ष दुवै पर्व एकै दिन परेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत निर्णयअनुसार बिहान चतुर्दशी तिथि र साँझ औँसी तिथि पर्ने भएकाले आजै कुकुरतिहार र लक्ष्मीपूजा मनाउनुपर्ने जनाएको छ। कुकुरतिहारका अवसरमा बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ। कुकुरलाई टीका तथा माला लगाइदिएर मिठा खानेकुरा खुवाउने परम्परा छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र भगवान् भैरवको वाहनका रूपमा समेत पूजा गर्ने गरिन्छ। पौराणिक मान्यताअनुसार यमलोकको ढोकामा चार आँखा भएका श्यामा र सबला नामका दुई कुकुरले पहरा दिने गर्छन्।
उनीहरूले मानिसको मृत्युको समय नजिकिँदा यमराजलाई खबर गर्ने विश्वास गरिन्छ। कुकुरलाई प्रसन्न राख्दा यमलोकको यात्रामा कष्ट भोग्नुनपर्ने र मृत्युको भयबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ कुकुरको पूजा गर्ने गरिएको हो। महाभारतको कथामा पनि कुकुरको महत्त्वलाई विशेष रूपमा उल्लेख गरिएको छ। पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ प्रस्थान गर्दा बाटोमा एकपछि अर्को गर्दै सबै ढल्छन्। अन्तिममा धर्मराज युधिष्ठिर र उनीसँगै हिँडेको एउटा कुकुर मात्र जीवित रहन्छन्। स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले कुकुरलाई छाडेर स्वर्ग प्रवेश गर्न आग्रह गर्दा युधिष्ठिरले आफ्नो सङ्कटका साथीलाई त्यागेर स्वर्ग नजाने अडान लिनुहुन्छ।
युधिष्ठिरको धर्म र वफादारिता देखेर कुकुर वास्तविक रूपमा धर्मराज अर्थात् यमराजका रूपमा प्रकट भएको पौराणिक कथन छ। यसैगरी, तिहारको महत्त्वपूर्ण पर्वका रूपमा रहेको लक्ष्मीपूजा आज साँझ मनाइँदै छ। कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा कात्तिक कृष्ण औँसीकै दिन समुद्रबाट धनधान्यकी देवी महालक्ष्मी प्रकट हुनुभएको थियो। देवी लक्ष्मीको आगमनको खुसीयालीमा देवताले दीप प्रज्वलन गरी स्वागत तथा पूजाआजा गरेको धार्मिक विश्वास छ। यही परम्पराअनुसार प्रत्येक वर्ष औँसीको रात घरआँगन सफा गरी दीप प्रज्वलन गर्ने र धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ।
अर्को पौराणिक कथाअनुसार भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिलाई तीन पाइला भूमि माग्दै पाताल लोक पठाउनुभएको थियो। राजा बलिको दानशीलताबाट प्रसन्न भएर विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभएको धार्मिक विश्वास छ। यसै क्रममा देवी लक्ष्मीले राजा बलिलाई भाइ बनाई रक्षासूत्र बाँधेर पातालमा बन्दी अवस्थामा रहेका आफ्ना पति भगवान् विष्णुलाई मुक्त गराउनुभएको कथन छ।
राजा बलिको राज्यमा लक्ष्मीको कृपाले धनधान्यको अभाव नहुने वरदान प्राप्त भएको खुसीयालीमा पनि दीपावली गर्ने परम्परा रहेको मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा तथा म्हपूजा मनाइने छ। यसै दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ। तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइटीका मनाइने छ। समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।










Discussion about this post