कार्तिक २२, सोलुखुम्बु । जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको अध्यक्षमा खेमराज जमरकट्टेल चयन हुनुभएको छ ।
प्रतिष्ठानको १३ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनबाट खेमराज जमरकट्टेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । शनिबार नेचासल्यान गाउँपालिकास्थित प्रतिष्ठान परिसरमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै साधारणसभा सम्पन्न गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष देवेन्द्र जमरकट्टेलको अध्यक्षता तथा लोचन जमरकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष देवेन्द्र जमरकट्टेलले आफ्नो नेतृत्वको ७ वर्ष ७ महिनाको अवधिमा संस्थाले विभिन्न उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रतिष्ठानले हालसम्म करिब २४ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न सफल भएको छ । साथै भारद्वाज गोत्रीय बन्धुहरूलाई आजीवन सदस्यका रूपमा संस्थामा जोड्दै लगिएको उहाँले बताउनुभयो ।
निवर्तमान अध्यक्ष जमरकट्टेलले प्रतिष्ठानमा अझै बाँकी बन्धुहरूलाई आबद्ध गराउने, संस्थाका गतिविधिलाई डिजिटलाइजेशन गर्ने लगायतका कामहरू बाँकी रहेको उल्लेख गर्दै ती काम आगामी कार्यसमितिले अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
भारद्वाज गोत्रीय बन्धुहरूलाई एकीकृत गर्ने उद्देश्यसहित स्थापना भएको जमरकट्टेल सेवा प्रतिष्ठानले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ ।











Discussion about this post