कातिक २४, सोलुखुम्बु । कार्तिक शुक्ल प्रतिपदाका दिन आज गोवद्र्धन पर्वत, बली, गोरु तथा हलिको पूजा गरी गोवद्र्धन पर्व मनाइँदैछ। यमपञ्चक अर्थात् तिहारको महत्वपूर्ण दिनका रूपमा रहेको आजको दिन गोरुलाई मीठा परिकार खान दिएर तथा गोवद्र्धन पर्वतको पूजा गरी मनाउने धार्मिक परम्परा छ। यस अवसरमा घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा स्थापना गरेर पूजा गर्ने चलन रहेको छ।
कृषि कर्ममा गोरुले पुर्याउँदै आएको योगदानको सम्मानस्वरूप गोरुको पूजा गर्ने तथा खेतबारी जोत्न प्रयोग गरिने हलिको समेत पूजा गर्ने परम्परा रहेको छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको घटनाको स्मरणमा गोवद्र्धन पूजा गर्ने प्रचलन सुरु भएको धर्मशास्त्रविद् प्रा। तोयराज नेपालले बताउनुभयो।
उहाँका अनुसार भगवान् श्रीकृष्णले इन्द्रको प्रकोपबाट गोकुलवासीलाई संरक्षण गर्न गोवद्र्धन पर्वत उचालेको धार्मिक मान्यतासँग यस पर्वको सम्बन्ध रहेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो।
गोवद्र्धन पूजाले प्रकृति, कृषि तथा पशुधनको महत्त्वलाई उजागर गर्नुका साथै मानव जीवनमा गोरु र हलिले पुर्याएको योगदानको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक सन्देशसमेत बोकेको छ।










Discussion about this post