कातिक २५, सोलुखुम्बु । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ र दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी निधारमा टीका लगाइदिने, माला पहिर्याउने तथा मिठामिठा परिकार खुवाउने चलन छ। त्यसैगरी, दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने, उपहार तथा दक्षिणा दिने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।
यस वर्ष भाइटीका लगाउनका लागि साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर नै भाइटीका लगाउन सकिनेछ। तर राज्य सञ्चालकहरूले भने निर्धारित शुभसाइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। समितिका अनुसार यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व फर्कने र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्नेछ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछन्।
तुला राशिमा चन्द्रमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले बताउनुभएको छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उहाँको भनाइ छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी प्रेम, सद्भाव, विश्वास र पारिवारिक एकतालाई बलियो बनाउने विश्वास गरिन्छ।










Discussion about this post