मंसिर १,सोलुखुम्बु। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत सोलुखुम्बुमा रहेको विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठको प्राज्ञिक तथा अनुसन्धानमूलक जर्नल ‘सर्वोच्च प्रभा’ को पहिलो अङ्क नेपाल जर्नल अनलाइन ९नेपजोल० मा प्रकाशित भएको छ। विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा तयार पारिएको उक्त जर्नलमा संस्कृत, नेपाली भाषा तथा साहित्य, दर्शन, संस्कृति र शिक्षालगायत विभिन्न विषयका मौलिक अनुसन्धानमूलक लेख समेटिएका छन्। विद्यापीठमा हुँदै आएका प्राज्ञिक तथा अनुसन्धानात्मक गतिविधिलाई संस्थागत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहुँच विस्तार गर्ने उद्देश्यले जर्नल प्रकाशन गरिएको हो।
नेपजोलमा जर्नल समावेश भएसँगै प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा अध्येताहरूलाई आफ्ना अनुसन्धानमूलक लेख प्रकाशन गर्न र अनुसन्धानका निष्कर्षलाई फराकिलो पाठकवर्गसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। यस उपलब्धिले दुर्गम भौगोलिक क्षेत्रमा रहेर पनि प्राज्ञिक अनुसन्धान, लेखन तथा प्रकाशनका क्षेत्रमा उल्लेखनीय काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको विद्यापीठले जनाएको छ। यसबाट नेपाल संस्कृत विश्वविद्यालय तथा विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठको शैक्षिक गरिमा र अनुसन्धानात्मक पहिचान थप सुदृढ हुने विश्वास गरिएको छ।
जर्नल प्रकाशनमा योगदान पुर्याउने अनुसन्धान समिति, सल्लाहकार समिति, व्यवस्थापन समिति, समीक्षक, लेखक तथा सम्पादक मण्डलप्रति विद्यापीठ परिवारले आभार व्यक्त गरेको छ। ‘सर्वोच्च प्रभा’ को पहिलो अङ्क नेपजोल पोर्टलमा ‘सर्वोच्च प्रभा’ नामबाट खोजी गरी अध्ययन गर्न सकिनेछ। आगामी दिनमा पनि जर्नलमार्फत मौलिक अनुसन्धान तथा प्राज्ञिक लेखनलाई निरन्तरता दिने विद्यापीठले जनाएको छ।











Discussion about this post