मंसिर १, सोलुखुम्बु । सोलुखुम्बुको जुनबेसी माध्यमिक विद्यालयमा आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माण हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीस्थित विद्यालयमा हिमालयन यति क्लब, जापानी दाता र वडा कार्यालयको त्रिपक्षीय साझेदारीमा छात्रावास निर्माण गर्न लागिएको हो । छात्रावास निर्माणका लागि कुल ५१ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
जसमध्ये वडा कार्यालयले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी ४१ लाख रुपैयाँ जापानी दाता डा. हारि ताका साकाईले सहयोग गर्ने सहमति भएको छ । यससम्बन्धी त्रिपक्षीय सम्झौता काठमाडौंमा सम्पन्न भएको छ । वडा अध्यक्ष ङवाङ ठिले शेर्पा, हिमालयन यति क्लब र जापानी दाता डा. हारि ताका साकाईबीच छात्रावास निर्माणका लागि सम्झौता भएको हो । छात्रावास निर्माण सम्पन्न भएपछि वडा नम्बर २ सहित अन्य क्षेत्रका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्ने अवसर पाउनेछन् ।
आर्थिक अभावका कारण विद्यालयमा नियमित अध्ययन गर्न तथा आवासको व्यवस्था मिलाउन कठिनाइ भोगिरहेका विद्यार्थीलाई यसले राहत पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहको बजेट र विदेशी दाताको सहयोगलाई एकीकृत गरी निर्माण गर्न लागिएको छात्रावासले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीको शैक्षिक पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।










Discussion about this post