कातिक ३०, सोलुुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिकामा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आगामी मङ्सिर २, ३ र ४ गते शिविर सञ्चालन गर्न लागिएको हो । नगरपालिकाका अनुसार गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयमा आयोजना हुने शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्नेछ ।
आम नागरिक तथा विद्यार्थीको आँखा स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन गर्न लागिएको शिविरमा निःशुल्क आँखा परीक्षण गरिने नगरपालिकाले जनाएको छ । शिविरमा मोतियाबिन्दुको समस्या पहिचान भएका बिरामीका लागि निःशुल्क शल्यक्रियाको समेत व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, विद्यालयमा अध्ययनरत विद्यार्थीको विशेष आँखा परीक्षण गरिने र परीक्षणका क्रममा चस्मा आवश्यक देखिएका विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिने जनाइएको छ । नगरपालिकाले शिविरबाट अधिकतम लाभ लिन नगरवासी तथा सम्पूर्ण विद्यार्थीलाई निर्धारित मिति र स्थानमा उपस्थित भई आँखा परीक्षण गराउन अनुरोध गरेको छ ।










Discussion about this post