मंसिर १, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको शहरी पूर्वाधार विकास तथा सडक स्तरोन्नतिका लागि ३६ करोड ९ लाख रुपैयाँ बराबरको बहुवर्षीय योजना तथा कार्यक्रम स्वीकृत भएको छ । नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले सामाजिक सञ्जालमार्फत सल्लेरी र पत्ताले बजार क्षेत्रमा शहरी पूर्वाधार निर्माणका लागि २६ करोड ७४ लाख रुपैयाँ तथा सडक स्तरोन्नतिका लागि ९ करोड ३५ लाख रुपैयाँ विनियोजनसहितको योजना स्वीकृत भएको हो ।
स्वीकृत योजनाअन्तर्गत अब छिट्टै आयोजना छनोट समितिको बैठक बसेर आवश्यक योजना छनोट गरिने र त्यसपछि कार्यान्वयन प्रक्रिया अघि बढाइने नगर प्रमुख शेर्पाले जानकारी दिनुभएको छ । नगर प्रमुख शेर्पाका अनुसार आफूले प्रस्ताव गरेको उक्त कार्यक्रमलाई नेपाल सरकारको कार्यक्रम तथा बजेटमा समावेश गराउन विभिन्न सरकारी निकायका पदाधिकारीले सहयोग र समन्वय गरेका थिए ।
उहाँले भवन विभाग, ओखलढुङ्गाका तत्कालीन प्रमुख सरोज पौडेल, शहरी विकास मन्त्रालयकी तत्कालीन प्रशासन शाखा प्रमुख इन्दिरा थापा, योजना महाशाखाका तत्कालीन योजना प्रमुख प्रभाकरलाल कर्ण तथा भवन विभागका तत्कालीन महानिर्देशक रवीन्द्र बोहराप्रति आभार व्यक्त गर्नुभएको छ ।
उक्त बहुवर्षीय योजना कार्यान्वयनमा आएपछि सोलुदुधकुण्ड नगरपालिकाको व्यवस्थित शहरी विकास, सडक पूर्वाधारको सुधार तथा समग्र आर्थिक र सामाजिक समृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ । नगर प्रमुख शेर्पाले यस योजनालाई नगरवासी सबैको साझा उपलब्धिका रूपमा उल्लेख गर्दै सफल कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।










Discussion about this post