मंसिर ६, सोलुखुम्बु । सोलुखुम्बुमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९० वटा सवारीसाधन एक महिनामा कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातहतका प्रहरी कार्यालयले गत कात्तिक महिनामा गरेको सवारीसाधन चेकजाँचका क्रममा उक्त सङ्ख्यामा सवारीसाधन कारबाहीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार कात्तिक महिनामा १ हजार २ सय ४० वटा सवारीसाधन चेकजाँच गरिएको थियो ।
चेकजाँचका क्रममा विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ९० वटा सवारीसाधनलाई कारबाही गरिएको हो । कारबाहीबाट ९८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्ने सवारीसाधनमध्ये अधिकांशमा आवश्यक कागजात चुस्तदुरुस्त नराख्ने, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सिटबेल्ट प्रयोग नगर्ने लगायतका समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङले जानकारी दिनुभयो ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि जिल्लाका विभिन्न स्थानमा नियमित सवारीसाधन चेकजाँच भइरहेको प्रहरीले जनाएको छ । ट्राफिक नियमको पालना गर्न तथा सवारीसाधनका आवश्यक कागजात अद्यावधिक राख्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ ।










Discussion about this post