सबिना राई, मंसिर ८,सोलुखुम्बु । सोलखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४, बावर्खामा ३५ वर्षीय अम्बर राईको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थानका ३२ वर्षीय तेजे भनिने अमन राई, ६० वर्षीय करबहादुर भनिने कालीबहादुर राई, २३ वर्षीय रबिन राई र २३ वर्षीय कुशल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङका अनुसार गत मङ्सिर ६ गते बिहान करिब ९ बजे बारवाखु जाने बाटोमा डस्नामा सुताइराखेको र सिरक ओढाएको अवस्थामा राईको शव फेला परेको थियो । प्रारम्भिक सूचना प्राप्त हुनासाथ प्रहरी चौकी काकुबाट वरिष्ठ प्रहरी हवल्दार गान्धी चौधरीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने लगत्तै प्रहरी निरीक्षक तामाङसहितको टोलीले घटनास्थलको सूक्ष्म अध्ययन तथा लासजाँच मुचुल्का गरेको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा मृतक राईको टाउकोको बायाँ भागमा करिब एक इन्च गहिरो तीनवटा र बायाँ कानमुनि घाँटीमा करिब डेढ इन्च गहिरो चोट लागेको पाइएको छ । शव भेटिएको स्थानमा रगतका छिटाहरू नदेखिएपछि प्रहरीले आसपासको क्षेत्रमा खोजतलास गर्दा करिब १५० मिटर माथि ढुङ्गा तथा पातहरूमा रगतका टाटा र माटोले छोपिएको अवस्थामा रगतजस्तो देखिने रातो पदार्थ फेला पारेको थियो । सोही स्थानमा हत्या गरी प्रमाण लुकाउने उद्देश्यले शवलाई करिब १५० मिटर तल बाटोछेउमा ल्याएर डस्ना र सिरकले छोपेर राखिएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घटनाको अघिल्लो दिन साँझ करिब ५ बजेदेखि मृतक र आरोपितहरू सँगै सुँगुर काट्ने काममा संलग्न थिए । त्यसपछि साँझ ६ बजेतिर स्थानीय एक होटलमा बसी राति करिब ११ः३० बजेसम्म उनीहरूले सँगै मदिरा सेवन गरेका थिए । होटलमा मदिरा सेवनकै क्रममा सामान्य विषयमा उनीहरूबीच वादविवाद भएको थियो । होटलबाट आ–आफ्नो घर फर्कने क्रममा एउटै बाटो भएकाले बीच बाटोमा पुनः भेट हुँदा सोही विवादले उग्र रूप लिएको र झैझगडाका क्रममा ढुङ्गाले प्रहार गर्दा अम्बर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
झगडा छुट्याउने क्रममा कुशल र रबिन राईसमेतको संलग्नता देखिएको र घटनामा अन्य व्यक्तिको संलग्नता रहेरनरहेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही अघि बढाइएको छ ।











Discussion about this post