मंसिर ०९ , साेलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ। गाउँपालिकाले आगामी मंसिर २३ गते विशेष समारोह आयोजना गरी बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी गरेको हो।
गाउँपालिकास्तरीय बालमैत्री स्थानीय शासन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माको अध्यक्षतामा मंसिर ७ गते बसेको बैठकले घोषणा गर्ने मिति तय गरेको हो। घोषणा समारोहमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिमल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।
हुरेन्डेक उदयपुरका वकालत तथा अभियान अधिकृत गेशबहादुर आलेमगरका अनुसार गाउँपालिका र साझेदार संस्थाहरूको सहकार्यमा ताप्लीका पाँचवटै वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ। समग्र गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न आवश्यक तयारीसमेत अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो।
घोषणा समारोहलाई व्यवस्थित र भव्य बनाउन उदयपुरका आठवटै स्थानीय तह, सम्बन्धित सरकारी निकाय तथा विभिन्न संघसंस्थालाई निमन्त्रणा गर्ने तयारी गरिएको छ। कार्यक्रममा स्थानीय कला, संस्कृति र मौलिकता झल्किने सांस्कृतिक प्रस्तुतिमार्फत अतिथिहरूको स्वागत गरिने गाउँपालिका अध्यक्ष विश्वकर्माले बताउनुभयो।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष धनमाया मगरले समारोहलाई व्यवस्थित बनाउन अतिथि सत्कार, गाउँपालिकाका विभिन्न प्रवेश नाकामा स्वागतद्वार तथा ब्यानर निर्माण र प्रचारप्रसारलगायतका तयारीमा जुट्न सम्बन्धित शाखा तथा सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ।
जिल्लाकै पहिलो बालमैत्री गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन वर्ल्ड भिजन इन्टरनेशनल नेपालका साझेदार संस्था हुरेन्डेक उदयपुर र जिड्स उदयपुरले समेत सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। जिड्स उदयपुरका सामाजिक परिचालकद्वय इन्द्रनारायण श्रेष्ठ र सरोज हमालले संस्थागत तथा व्यक्तिगत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईले बालमैत्री स्थानीय तह घोषणा गाउँपालिकाका लागि ऐतिहासिक उपलब्धि हुने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन आवश्यक तयारीमा ढिलासुस्ती नगर्न विषयगत शाखा तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ।
पाँचवटै वडालाई बालमैत्री वडा घोषणा गरिसकेको ताप्ली गाउँपालिकाले अब समग्र गाउँपालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। गाउँपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएमा बालअधिकार संरक्षण, बाल सहभागिता र बालमैत्री विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।










Discussion about this post