मंसिर ८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीमा गाउँपालिकामा एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । माप्य दूधकोशीमा गाउँपालिका–४, बावर्खा स्थित कच्ची सडकमा सोही स्थानका ३५ वर्षीय अम्बर राईको हत्या गरेको आरोपमा स्थानीय चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
पक्राउ पर्नेहरूमा माप्य दूधकोसी गाउँपालिका–४, बावर्खा टोलका ६० वर्षीय करबहादुर भनिने कालीबहादुर राई, सोही स्थानका २३ वर्षीय रविन राई, ३२ वर्षीय तेजे भनिने अमन राई र देप्कु टोलका २७ वर्षीय कूसल राई रहेका छन् । प्रहरीका अनुसार गत मङ्सिर ५ गते राति करिब ११स्३० बजेको समयमा आरोपितहरूले अम्बर राईमाथि ढुङ्गा र मुक्काले निर्घात कुटपिट गरी हत्या गरेका थिए ।
हत्यापश्चात् घटना लुकाउने उद्देश्यले शवलाई घटनास्थलबाट करिब १५० मिटर तल लगी सिरक र डस्ना ओछ्याएर सुताइराखेको अवस्थामा मङ्सिर ६ गते बिहान ९ बजे फेला पारिएको थियो । घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले चारै जना आरोपितलाई मङ्सिर ६ गते नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानु शीर्षकमा मुद्दा दर्ता गरी सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










Discussion about this post