सबिना राई, मंसिर ८, सोलुखुम्बु । जिल्ला समन्वय समिति महासङ्घका महासचिव एवं जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले २०८३ भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित रसुवावासीको स्थायी पुनःस्थापना र पुनर्निर्माणमा सङ्घीय सरकारले उदासीनता देखाएको बताउनुभएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बु र रसुवाबिच विभिन्न समयमा गरिएका असल अभ्यास आदानप्रदानका लागि मङ्गलबार जिल्ला समन्वय समिति सोलुखुम्बुको कार्यालयमा आयोजित अन्तरक्रिया बैठकमा प्रमुख घिमिरेले यस्तो धारणा राख्नुभएको हो ।
विपद्का बेला स्थानीय तह र प्रदेश सरकारले समन्वयात्मक रूपमा उद्धार तथा राहत वितरण गरे पनि स्थायी बसोबासको व्यवस्था मिलाउन सङ्घीय सरकार गम्भीर नबनेको उहाँले गुनासो गर्नुभयो । भदौको बाढीले रसुवामा अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको स्मरण गर्दै घिमिरेले उक्त विपद्मा करिब एक हजार चार सयदेखि एक हजार पाँच सयको हाराहारीमा मानिस बेपत्ता तथा मृत्यु भएको जानकारी दिनुभयो । तीमध्ये हालसम्म १४–१५ जनाको मात्र शव सनाखत हुन सकेको छ । बाढीमा परी गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा तामाङ र वडाध्यक्ष कामी छिरिङलगायतका जनप्रतिनिधि तथा आफ्नै परिवारका सदस्यसमेत गुमाउनुपरेको पीडा उहाँले सुनाउनुभयो ।
बाढीका कारण रसुवागढी नाका जोड्ने स्याफ्रुबेँसीको पुल बगाउँदा अन्तर्राष्ट्रिय व्यापार र यातायात सञ्जाल विच्छेद भएको तथा करिब ६०० मेगावाट क्षमताका १०–११ वटा जलविद्युत् आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएको उहाँले उल्लेख गर्नुभयो । रसुवागढी नाका र जलविद्युत् आयोजनामा सोलुखुम्बु, खोटाङ, जुम्लालगायत देशका ७५ जिल्लाका नागरिकले रोजगारी पाएको प्रसङ्ग उल्लेख गर्दै घिमिरेले महासङ्घको पहलमा रसुवाका बाढीपीडितका लागि करिब १५ लाख रुपियाँको राहत कोष स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।
अन्तरक्रियाका क्रममा सगरमाथाको जिल्ला सोलुखुम्बुको भौगोलिक अवस्था र पछिल्लो समय भएको सडक पूर्वाधार विकासको उहाँले प्रशंसा गर्नुभयो । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा रसुवाका समन्वय उपप्रमुख विजय तामाङ, समन्वय अधिकारी तथा दुवै जिल्लाका पदाधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो । सो अवसरमा दुवै जिल्लाले स्थानीय सुशासन, विकास निर्माण र विपद् व्यवस्थापनमा गरेका असल अभ्यासहरूको समीक्षा गरिएको थियो ।










Discussion about this post