सबिना राई, मंसिर ८, सोलुखुम्बु । जिल्ला समन्वय समिति (जिसस) सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बाढीपहिरो लगायतका प्राकृतिक विपद्को सामना गरिरहेको रसुवा जिल्लालाई सोलुखुम्बुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति रसुवाको टोलीलाई सोलुखुम्बुमा स्वागत गर्दै प्रमुख निरौलाले भौगोलिक र पर्यटकीय दृष्टिकोणले समानता बोकेका दुई जिल्लाबिचको सहकार्यले समग्र विकासमा टेवा पुग्ने बताउनुभयो । रसुवामा हालैको बाढीले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “रसुवामा भएको अपूरणीय क्षतिलाई हामी सबै मिलेर पूरा गर्नुपर्छ ।
सरकारले भाष्य मात्र होइन, अब परिणाममुखी र यथार्थवादी काम गर्न जरुरी छ ।“ महासंघको निर्णयअनुसार रसुवाका बाढीपीडितका लागि सोलुखुम्बुले राहत उपलब्ध गराउने निर्णय गरिसकेको जानकारी दिँदै उहाँले विपद् पुनर्निर्माणमा आ–आफ्नो तह र तप्काबाट जुट्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख निरौलाले २०४६ सालको परिवर्तनपछि सोलुखुम्बुले शिक्षा क्षेत्रमा फड्को मारेको र पछिल्लो समय सडक सञ्जालको विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो । हाल जिल्लाका प्रायः सबै स्थानीय तह र वडाहरूमा मोटरबाटोको ट्रयाक खुलिसकेको तथा १५ शय्याको स्थानीय अस्पतालहरू सञ्चालनमा आइसकेको उहाँले उल्लेख गर्नुभयो ।
१५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न आवश्यक भौतिक संरचना तयार भइसकेकोले प्रदेश सरकारले छिट्टै निर्णय गर्ने उहाँको विश्वास छ । पर्यटन विकासको परम्परागत बुझाइलाई परिवर्तन गर्नुपर्ने धारणा राख्दै प्रमुख निरौलाले विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटनलाई पनि उत्तिकै प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
हिमाली जिल्ला जडीबुटीको भण्डार भएकाले अबको पर्यटनलाई योग र आयुर्वेदसँग जोड्नुपर्ने उहाँको सुझाव छ । “सोलुखुम्बु र रसुवा घुम्न आउने पर्यटकहरू यहाँको स्वच्छ वातावरण र हरियालीमा ७–१० दिन योग सिकेर स्वस्थ भई फर्किने वातावरण बनाउनुपर्छ,“ उहाँले भन्नुभयो । यसैगरी, देश विकासको मेरुदण्ड कृषि भएकाले निर्वाहमुखी कृषि प्रणालीलाई अन्त्य गरी व्यावसायिक र आधुनिकतातर्फ लैजान ढिला गर्न नहुनेमा उहाँले जोड दिनुभयो । रसुवा र सोलुखुम्बुबिचको यो भेटघाट जनस्तरसम्मै विस्तार हुनुपर्ने र यसले दुवै जिल्लाको समुन्नतिमा कोसेढुङ्गाको काम गर्ने विश्वास प्रमुख निरौलाले व्यक्त गर्नुभयो ।










Discussion about this post