मंसिर ९, सोलुखुम्बु । स्थानीय स्रोतसाधनको उपयोग गर्दै आफ्नै ठाउँमा उद्यम र व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने सोलुखुम्बुका आठ जना उद्यमी सम्मानित भएका छन्। बुधबार राष्ट्रिय उद्योग दिवस २०८३ को अवसरमा जिल्ला समन्वय समिति सोलुखुम्बुले कृषि, पशुपालन, हस्तकला तथा अन्य व्यवसायमा सक्रिय उद्यमीहरूलाई सम्मान गरेको हो।
स्थानीय स्तरमै उत्पादन र व्यवसाय विस्तार गर्दै आर्थिक आत्मनिर्भरता बढाउन योगदान पुर्याएका उद्यमीहरूलाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो। सम्मानित हुनेमा एभरेष्ट कार्पेट उद्योगका कान्छा शेर्पा, साङ्गीफुक चौँरी पालन फर्मका ङवाङ पाल्देन शेर्पा, सुकेपोखरी चौँरी फर्मका साङ्गे शेर्पा, प्रगतिशील पशु तथा कृषि फर्मका भानुभक्त श्रेष्ठ, दुधकोशी बहुउद्देश्यीय फलफूल नर्सरी तथा उत्पादन फर्मका युवराज राई, अरुण कृषि फर्मका गोपाल कार्की, गौरीशंकर कृषि तथा पशु फर्मकी दुर्गाकुमारी श्रेष्ठ राजभण्डारी र गोपाल टेलर्सकी थकुमाया दर्जी रहेका छन्।
उनीहरूलाई जनही ३ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो। यस्तै घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख प्रेमचन्द्र कुलुङले प्रस्तुत गरेको विवरणअनुसार प्रदेश सरकार स्थापना भएयता जिल्लामा ३ हजार ६ सय ५३ वटा उद्योग र १ हजार ९ सय ६४ वटा वाणिज्य फर्म दर्ता भएका छन्। ती उद्योग तथा वाणिज्य फर्मबाट हालसम्म २ करोड ५ लाख ८६ हजार ४ सय ८६ रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, सीपमूलक तथा उद्यमशीलता विकाससम्बन्धी ७९ वटा तालिम सञ्चालन गरी १ हजार ३०९ जनालाई लाभान्वित बनाइएको छ। अचार, जुस, जाम उत्पादन, वायरिङ, गलैँचा बुनाइ, अल्लो तथा खाडी कपडा बुनाइ लगायतका तालिममा २ करोड ७१ लाख ८८ हजार १६८ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। त्यसैगरी, २८१ वटा उद्योगलाई प्रविधि हस्तान्तरण गर्न १ करोड ७१ लाख ८५ हजार ५०० रुपैयाँ खर्च गरिएको छ।
पछिल्ला वर्षहरूमा सरकारले सहुलियतपूर्ण कर्जा तथा स्टार्टअप उद्यम कर्जालाई समेत प्राथमिकतामा राखेको कार्यक्रममा जानकारी गराइएको थियो। जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।










Discussion about this post