मंसिर १०, सोलुखुम्बु । स्थानीय तहमा सेवाप्रदायक निकाय र सेवाग्राहीबीचको सम्बन्ध विस्तार गर्दै सार्वजनिक सेवालाई गुणस्तरीय, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले उदयपुरका दुई स्थानीय तहमा नागरिक आवाज र कर्तव्य समूहका सदस्यलाई अभिमुखीकरण गरिएको छ । ‘सामाजिक जवाफदेहिता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ मङ्सिर ६ गते ताप्ली गाउँपालिका–५, रुपाटार र मङ्सिर ९ गते रौतामाई गाउँपालिका–२, भुटारमा एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदार संस्था हुरेन्डेक उदयपुरद्वारा सञ्चालित हातेमालो परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा ताप्लीमा ३० र रौतामाईमा ३० गरी ६० जना समुदाय तथा वडास्तरीय प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण हुरेन्डेक उदयपुरका वकालत तथा अभियान अधिकृत गेशबहादुर आलेमगर (जीबी लांघाली) ले गर्नुभएको थियो । उहाँका अनुसार बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनको प्रवर्धनसँगै शिक्षा र स्वास्थ्य क्षेत्रबाट प्रवाह हुने सेवालाई गुणस्तरीय तथा प्रभावकारी बनाउन कार्यक्रम केन्द्रित रहेको छ । सेवाप्रदायक निकायलाई पारदर्शी र जवाफदेही बनाउनु पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
लांघालीका अनुसार रौतामाई गाउँपालिकाका वडा नम्बर २, ३, ४, ५, ६, ७ र ८, ताप्ली गाउँपालिकाका वडा नम्बर १, २, ३ र ५, उदयपुरगढी गाउँपालिकाको वडा नम्बर १, कटारी नगरपालिकाको वडा नम्बर ९, लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ५ तथा त्रियुगा नगरपालिकाको वडा नम्बर १५ गरी १५ वटा वडामा नागरिक आवाज र कर्तव्य समूह गठन तथा पुनर्गठन गरी सक्रिय रूपमा परिचालन भइरहेको छ । कार्यक्रममा रौतामाई गाउँपालिका–२ का कार्यवाहक वडाध्यक्ष अनिल मोते र गाउँपालिकाका खाद्य तथा पोषण सहजकर्ता धनसरी परियारको समेत उपस्थिति रहेको थियो । कार्यवाहक वडाध्यक्ष मोतेले नागरिक आवाज र कर्तव्य समूह समाजमा निगरानी तथा खबरदारी गर्ने संयन्त्रका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।
समूहको निरन्तरता र प्रभावकारिताका लागि उहाँले शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी खाद्य तथा पोषण सहजकर्ता परियारले नागरिक आवाज र कर्तव्य समूहले सेवाग्राही, सेवाप्रदायक, सहयोगी निकाय तथा विभिन्न सङ्घसंस्थाबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
हुरेन्डेक उदयपुरका सामाजिक परिचालक मनोज दियालिका अनुसार समुदायका विद्यालय तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको गुणस्तर सुधार गर्न र सकारात्मक परिणाम हासिल गर्न नागरिक आवाज र कर्तव्य समूहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहप्रति नागरिकको चासो, सहभागिता र निगरानी बढाउँदै सेवा प्रदायक निकायलाई थप जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











Discussion about this post