मंसिर १०, सोलुखुम्बु । रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविरसम्म सडक सञ्जाल विस्तार गर्ने लक्ष्यसहित अघि बढाइएको हिमाली पर्यटन राजमार्ग निर्माणले गति लिने अपेक्षा गरिएको छ। उक्त आयोजनाका लागि पाँच अर्ब रुपैयाँ बजेट स्रोत सुनिश्चित भएको छ।
पूर्वाधार विकास मन्त्रालयले रामेछापको विकास, समृद्धि र पर्यटन पूर्वाधार विस्तारसँग जोडेर आयोजनालाई प्राथमिकतामा राखेको हो। रामेछापका सङ्घीय सांसद तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले आयोजनाका लागि बजेट स्रोत सुनिश्चित भएको जानकारी दिँदै यसको कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको छ।
राजमार्ग निर्माणले रामेछापलाई हिमाली पर्यटनको प्रमुख प्रवेशद्वारका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीय कृषि तथा अन्य उत्पादनको बजारीकरण सहज हुनुका साथै पर्यटन व्यवसाय विस्तार र रोजगारीका अवसर सिर्जना हुने सांसद बुढाथोकीको भनाइ छ।
उहाँले आयोजनालाई रामेछापको विकासमा मात्र सीमित नराखी मुलुकको पर्यटन क्षेत्र, आर्थिक गतिविधि र राष्ट्रिय समृद्धिसँग जोडिएको महत्त्वपूर्ण पूर्वाधारका रूपमा व्याख्या गर्नुभएको छ। आयोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सके रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविरसम्म सडकमार्गबाट यात्रा गर्न सकिने सम्भावना बढ्नेछ।
यसले हिमाली क्षेत्रको पर्यटन पहुँच विस्तार गर्नुका साथै समग्र क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।










Discussion about this post