मंसिर ११, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिका–३, लामिडाँडास्थित रावा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो ज्याकेट तथा विद्यालय पोशाक वितरण गरिएको छ । रावाबेसी गाउँपालिका–२, खार्पा निवासी तारा कृष्ण भट्टराईले व्यक्तिगत खर्चमा करिब ४० हजार रुपैयाँ बराबरका न्यानो कपडा तथा विद्यालय पोशाक सहयोग गर्नुभएको हो ।

उहाँले विद्यालयका २० जना विद्यार्थीलाई न्यानो ज्याकेट र थप दुई जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम माझी तथा प्रधानाध्यापक शंकरदेव भट्टराईको उपस्थितिमा विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो । जाडो मौसममा विद्यार्थीलाई चिसोबाट जोगाउनुका साथै नियमित पठनपाठनमा सहजता प्रदान गर्ने र शैक्षिक यात्रामा प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको सहयोगदाता भट्टराईले बताउनुभएको छ ।

आवश्यक न्यानो कपडा तथा विद्यालय पोशाकको अभाव झेलिरहेका विद्यार्थीका लागि उक्त सहयोगले राहत पुग्ने विद्यालयको विश्वास छ । सामग्री प्राप्त गरेपछि विद्यार्थीहरूमा खुसी र उत्साह थपिएको विद्यालयले जनाएको छ । शिक्षा तथा बालबालिकाको उज्ज्वल भविष्यप्रति देखाउनुभएको सद्भाव र सामाजिक उत्तरदायित्वको उच्च मूल्याङ्कन गर्दै विद्यालय परिवारले सहयोगदाता भट्टराईप्रति आभार व्यक्त गरेको छ ।
बालबालिकाको शिक्षा र भविष्य निर्माणमा व्यक्तिगत तथा सामुदायिक सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता सहयोगले शैक्षिक वातावरण सुधार गर्न थप प्रेरणा मिल्ने विद्यालयको भनाइ छ ।











Discussion about this post