मंसिर १३, सोलुखुम्बु । नेकपा एमालेका नेता विशाल भट्टराईले अप्ठ्यारो परिस्थितिमा पनि संगठनमा निरन्तर रहने कार्यकर्ताकै कारण पार्टीको साख जोगिने बताउनुभएको छ। आयोजित पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको बैठकलाई सम्बोधन गर्दै एमाले जनसंगठन समन्वय प्रमुखसमेत रहनुभएका भट्टराईले संगठनमा चुनौतीपूर्ण अवस्था आउँदा केही व्यक्ति अताल्लिने र केहीले संगठन छाडेर जाने प्रवृत्ति स्वाभाविक रहेको उल्लेख गर्नुभयो।
तर, कठिन समयमा पनि संगठनमै रहेर जिम्मेवारी निर्वाह गर्ने व्यक्तिहरूले नै संगठनको प्रतिष्ठा जोगाउने उहाँको भनाइ थियो। नेता भट्टराईले नेतृत्वसँगको सम्पर्क र व्यवहारलाई लिएर देखिने दोहोरो मापदण्डप्रति पनि टिप्पणी गर्नुभयो। समयमा नेतृत्वले फोन गर्दा नउठाएको विषयलाई सामान्य रूपमा लिइने तर नियुक्तिका लागि फोन गर्दा नेतृत्वले व्यस्तताका कारण फोन रिसिभ गर्न नसके आलोचना हुने गरेको उहाँले बताउनुभयो।
उहाँले बितेका ३५ वर्षमा नेकपा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गर्ने अवसर पाए पनि त्यस अवधिमा उल्लेखनीय कामहरू गरेको दाबी गर्नुभयो। २०७४ सालको निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक कामहरू गरिरहेका बेला भूराजनीतिक चलखेलका कारण सरकारले पूर्ण कार्यकाल काम गर्न नपाएको उहाँको जिकिर थियो। नेता भट्टराईले संगठनमा कठिन परिस्थिति आउँदा विचलित नभई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।










Discussion about this post