मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा सम्पन्न ४८ किलोमिटर लामो ‘रेड पाण्डा म्याराथन २०२६’ को पुरुषतर्फको उपाधि रामेछापका तिलक सुनुवार र महिलातर्फको उपाधि जुम्लाकी कल्पना बुढाले जित्नुभएको छ। पुरुषतर्फ सुनुवारले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट १५ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो। सोलुखुम्बुका अर्जुन कुलुङ ४ घण्टा ३६ मिनेटमा दूरी पार गर्दै दोस्रो हुनुभयो।
रामेछापका हेमलाल श्रेष्ठ ४ घण्टा ५१ मिनेट ३० सेकेन्डसहित तेस्रो हुँदा सोही जिल्लाका गोपाल तामाङ ५ घण्टा १० मिनेटमा दौड पूरा गर्दै सान्त्वना स्थानमा रहनुभयो। महिलातर्फ जुम्लाकी कल्पना बुढाले ७ घण्टा ४ मिनेटमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो। जुम्लाकै सान्भी बुढा ७ घण्टा ५ मिनेटमा दूरी पार गर्दै दोस्रो हुनुभयो भने सोलुखुम्बुकी छिरिङ शेर्पाले ७ घण्टा ५७ मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो। समुद्री सतहदेखि २ हजार ३६० मिटर उचाइमा रहेको थेक्छेन पेमा छोलिङ गुम्बाबाट सुरु भएको म्याराथन ४ हजार ५४ मिटर उचाइमा रहेको पिके पिक पुगेर पुनः सुरुआती स्थलमा फर्किने मार्गमा सञ्चालन गरिएको थियो।
प्रतियोगितामा प्रथम हुने खेलाडीले १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ, तेस्रो हुनेले ५० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन्। पुरुष र महिला दुवै विधामा समान पुरस्कार राशि निर्धारण गरिएको थियो। रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताको मुख्य उद्देश्य संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे) संरक्षणमा समुदायको सहभागिता बढाउनुका साथै खेलकुदमार्फत संरक्षणको सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ। सन् २०२४ देखि सुरु गरिएको रेड पाण्डा म्याराथनको यसअघि पहिलो संस्करण ताप्लेजुङ र दोस्रो संस्करण इलाममा आयोजना गरिएको थियो। तेस्रो संस्करण सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित सल्लेरीमा आयोजना गरिएको हो। यसले सोलुखुम्बुको पर्यटन प्रवर्द्धनसँगै रेड पाण्डा संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सहयोग पुग्ने रेड पाण्डा नेटवर्कले विश्वास लिएको छ।
रेड पाण्डा नेटवर्कका म्यानेजर सोनाम टासी लामाका अनुसार म्याराथनले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै सोलुखुम्बुमा रेड पाण्डा संरक्षणको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण सद्भावना दूत दयाहाङ राईको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो।











Discussion about this post