मंसिर १२, सोलुखुम्बु । कोशी प्रदेश सरकार आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयनलाई गति दिनुको सट्टा पाँच महिनादेखि बजेट संशोधन र योजना हेरफेरमै अल्झिएको छ। पहिलो चौमासिक सकिएर दुई साता बितिसक्दासमेत सरकारले बजेट संशोधनको प्रक्रिया टुंग्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन्। गत असारमा प्रदेशसभाबाट बजेट पारित गर्दा साउनको तेस्रो साताभित्रै बजेट संशोधन गर्ने प्रतिबद्धता जनाएको सरकारले मंसिरको दोस्रो सातासम्म पनि योजना थपघटको काम पूरा गर्न सकेको छैन। पुस मसान्तभित्र बजेटको अर्धवार्षिक समीक्षा गर्नुपर्ने समय नजिकिँदै गर्दा सरकार भने योजना थप्ने र हटाउने प्रक्रियामै व्यस्त देखिएको छ।
सत्तारुढ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच करिब एक अर्ब २४ करोड रुपैयाँ बराबरका योजना हेरफेर गर्ने सहमति भए पनि विभिन्न मन्त्रालयबाट ६ अर्ब रुपैयाँभन्दा बढीका नयाँ योजना आर्थिक मामिला तथा योजना मन्त्रालयमा पुगेका छन्। सामाजिक विकास मन्त्रालयले करिब सात करोड रुपैयाँका योजना स्थगित गरी ९० करोड रुपैयाँभन्दा बढीका नयाँ योजना माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले ७० देखि ८० करोड रुपैयाँका योजना रोकेर झण्डै तीन अर्ब रुपैयाँ बराबरका नयाँ योजना प्रस्ताव गरेको जनाइएको छ।
पर्यटन, कृषि तथा सिँचाइ मन्त्रालयले पनि स्थगित योजनाको तुलनामा कैयौँ गुणा बढी बजेटका नयाँ योजना पठाएका छन्। मन्त्रालयहरूबाट आएको प्रस्ताव र बजेटको सीमाका कारण संशोधन प्रक्रिया कहिले टुंगिने भन्ने निश्चित नभएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने बजेट संशोधन प्रक्रिया तत्काल टुंग्याउने प्रयासमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन निर्देशन दिएपछि सरकारको नेतृत्व परिवर्तन हुन सक्ने आशंकाका बीच बजेट संशोधनलाई तीव्रता दिन खोजिएको बताइएको छ।
तर, कर्मचारी स्रोतका अनुसार प्रक्रिया तत्काल अघि बढाए पनि बजेट संशोधनको काम आगामी पुसको अन्तिमतिर मात्रै टुंगिने सम्भावना छ। गत साउनदेखि मंसिरको दोस्रो सातासम्म योजना थपघट गर्ने विषयमा प्रत्येक मन्त्रालयमा आधा दर्जनभन्दा बढी बैठक बसिसकेका छन्। पटक–पटक योजना सूची तयार पार्ने, फेरबदल गर्ने र मन्त्री तथा दलका नेताहरूको दबाबमा निर्णय परिवर्तन गर्नुपर्दा कर्मचारीहरू हैरान भएका छन्।
बजेट कार्यान्वयन र नियमित प्रशासनिक काम प्रभावित हुने गरी राजनीतिक नेतृत्वले योजना छनोटमा दबाब दिएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि बढेको छ। विकास निर्माणका कामले गति लिनुपर्ने समयमा सरकारको ध्यान बजेट कार्यान्वयनभन्दा योजना हेरफेरमा केन्द्रित भएको देखिन्छ।
यता, बजेट संशोधनमा भएको ढिलाइबारे आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले भने राजनीतिक अस्थिरता र चाडपर्वलाई कारण देखाएका छन्। १५ दिनभित्र बजेट संशोधन गर्ने प्रतिबद्धता जनाएको सरकारले पाँच महिनासम्म पनि प्रक्रिया पूरा गर्न नसक्नुले प्रदेश सरकारको बजेट व्यवस्थापन र कार्यक्षमतामाथि प्रश्न उठाएको छ।











Discussion about this post