मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ पब्लिक क्याम्पसमा स्नातकोत्तर तहअन्तर्गत शिक्षाशास्त्र सङ्कायको शैक्षिक योजना तथा व्यवस्थापन इपिएम० विषय सञ्चालनका लागि प्रक्रिया अघि बढाउन पहल गरिएको छ । सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक डा।लक्ष्मीकान्त शर्मा र सामान्य प्रशासन महाशाखाका उपप्रशासक भोजकुमार बस्नेतसँग भेट गरी थप विषय तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया यथाशीघ्र अघि बढाउन आग्रह गर्नुभएको हो ।
विद्यार्थी आन्दोलनलगायतका कारण प्रक्रिया प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष बस्नेतले निर्धारित समयभित्रै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गर्नुभएको छ । आगामी मङ्सिर १५ गतेभित्र पेस गर्नुपर्ने अनलाइन आवेदन फाराम भर्ने कार्यमा आवश्यक सहजीकरण गरी प्रक्रिया छिटो अघि बढाउन उहाँले आग्रह गर्नुभएको जनाइएको छ ।
यसैबीच, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ भदौ १४ गतेको निर्णयअनुसार निर्धारित मापदण्ड तथा मूल्याङ्कनका आधारमा विभिन्न सङ्कायका डीन कार्यालयले सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजमा कार्यक्रम र सेक्सन थप गर्न आवेदन माग गरेका छन् ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्कायका डीन कार्यालयबाट प्रकाशित सूचनाअनुसार आवेदन प्रक्रिया अघि बढाएको सोताङ पब्लिक क्याम्पस प्रशासनलाई अध्यक्ष बस्नेतले धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।
स्नातकोत्तर तहमा थप विषय सञ्चालनको पहलले सोताङलगायत आसपासका क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि थप अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ ।










Discussion about this post