मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबारका दिन पनि सरकारी कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको मङ्सिर १२ गते बसेको १२१ औँ बैठकले मङ्सिर १३ गते आइतबारदेखि लागू हुने गरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी सूचनाअनुसार भौगोलिक अवस्था र इन्धन खपतको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो। गाउँपालिकाको भौगोलिक बनावट र त्यहाँ सञ्चालित सवारीसाधनमा पेट्रोल तथा इन्धनको प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा अत्यन्त न्यून रहने भएकाले इन्धन बचतको उद्देश्य सान्दर्भिक नदेखिएको सूचनामा उल्लेख छ।
यसैगरी, आइतबार बिदा दिँदा दुर्गम क्षेत्रका बिरामीहरू उपचारबाट वञ्चित हुने तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको र नागरिकहरूको प्रशासनिक कार्य तथा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन आइतबार पनि कार्यालय खोल्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
निर्णयअनुसार आइतबारका दिन पनि अन्य कार्यदिन सरह नै बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन भई सेवा प्रवाह तथा पठनपाठन सुचारु हुनेछ। तर, जाडोयामको समयावधि अर्थात् आगामी माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने सूचनामा जनाइएको छ।










Discussion about this post