मंसिर १३, सोलुखुम्बु । सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । सिन्धुलीको दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप दिउँसो करिब १ बजेर १५ मिनेटमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ का ४२ वर्षीय चालक मातृका भट्टराई गम्भीर घाइते भएका छन् ।
त्यसैगरी उनकी ३८ वर्षीया श्रीमती प्रमिला भट्टराई, आठ वर्षीय छोरा आयन्स भट्टराई र ४० वर्षीया रेनुका सुवेदी भट्टराई मध्यम घाइते भएका छन् । रेनुका भट्टराईका १३ वर्षीय छोरा अतर्व भट्टराई भने सामान्य घाइते भएका छन् । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










Discussion about this post