साउन २३, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ वाकुका नागरिकहरुले राजधानी काठमाडौंबाटै सेवा लिएका छन् । मंगलबार वडाबाट प्रदान गरिने सेवा काठमाडौँमा बसोबास गरिरहेका वडाका १०० जना नागरिकहरुले सेवा लिएका हुन् ।
नागरिकहरुको समय र पैसाको समेत बचत हुने उदेश्यले वडा शिविर सञ्चालन गरिएको वडा अध्यक्ष राम प्रसाद मगरले जानकारी दिनुभयो । उहाँ अनुसार १ दिने शिविरमा सामाजिक सुरक्षा भत्ता नविकरण १९ जनाले, जन्मदर्ता ३४ जनाले, विवाह दर्ता १७ जनाले, जन्मदर्ता प्रमाणित ६ जनाले र अन्य सेवाहरु १७ जनाले लिएका हुन् ।
काठमाडौँदेखि सोलुखुम्बु आवतजावतका क्रममा १० हजार खर्च लाग्ने भन्दै सेवाग्राहीको रकम समेत बचत भएको वडा अध्यक्ष मगरको भनाई छ । सेवाग्राहीहरुको सल्लाह सुझावहरुलाई मध्यनजर गर्दै आगामि दिनहरुमा पनि सेवा प्रवाह गर्दै जाने विश्वास दिलाउनुभएको छ ।
Discussion about this post