भदाै १, साेलुखुम्बु । थामे खोलाको शिरमा रहेको हिमताल फुटेर नै थामेमा बाढी आएको पुष्टि भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका ५ मा रहेको सिंगो बस्ति नै शुक्रबार दिउसो बाढीले बगाए पछि शनिबार विहान हेलिकप्टर मार्फत स्थलगत अवलोकन गर्दा हिमपोखरी फुटेर नै बाढी गएको पुष्टि भएको हो ।
अचानक थामे खोलामा आएको बाढीले थामेका २० घर बगाएर करौडौँ क्षति भए पछि रक्षा मन्त्रि मानवीर राई सहितको टोली नेपाली सेनाको हेलिकप्टर लिएर खुम्बु पुगेको थियो । खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष मिङमारछिरि शेर्पा नेतृत्वको टोली भने दोलखा र सोलुको सिमाना रहेको थामे खोलको मुहाननै पुगेको छ । उक्त टोलीले टासिलाप्चा माथिको सानो पोखरी फुटेको फेला पारेको हो ।
टासिलाप्चा क्षेत्रमा रहेका दर्जन बढी पोखरी मध्ये सबै भन्दा मुनि पटि रहेको सानो पोखरी फुटेर थामे गाउँ बगाएको प्रमाणित भएको हो । हिमपोखरी के कति कारणले फुट्यो भन्ने कुरा प्रमाणित हुन सकेको छैन ।
उक्त पोखरी विष्फोट सँगै थामे खोलोमा बाढि आएपछि थामे गाउँमा करोडौँको क्षति गरेको छ भने बाढी दुधकोशी नदिमा मिसिँदा खुम्बु जाने गोरेटो बाटे बगाएको छ भने खुम्बु क्षेत्र जाने ओर्लाङघाटको पक्कि पुलको एक साईड भासिएको छ । अब माथिल्लो क्षेत्रमा बाढीबाट थप जोखिम भने नरहेको पालिका अध्यक्ष शेर्पाले बताए ।
Discussion about this post