बैशाख १९, सोलुखुम्बु । तेस्रो चिशंखुगढीकप खुला पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा ओखलढुंगाको मोलुङ गाउँपालिका र संखुवासभाको पाँचखपन नगरपालिका फाइनलमा प्रवेश गरेका छन् । प्रतिस्पर्धात्मक सेमिफाइनल खेलहरूमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका लागि भिड्ने अवसर सुरक्षित गरेका हुन् ।
फाइनल खेल भोलि शनिबार चिशंखुगढी ६ भदौरेको महेश्वर माविको प्रागणमा हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिताराम राईले जानकारी दिनुभयो । तेस्रो स्थानका लागि ओखलढुंगा चम्पादेवी र खोटाङ रावाबेँसीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमश : २ लाख २२ हजार २ सय २२ रुपैयाँ, १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यस्तै सर्बोत्कृष्ट खेलाडीलाई ११ हजार १ सय ११ रुपैयाँ र अनुशासित खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिता स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुग्ने उदेश्यले आयोजना गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । स्थानीय खेल प्रतिभा प्रर्वद्धन तथा अन्तरजिल्ला सम्बन्ध सुदृढ गर्ने उद्देश्यले चिशंखुगढी गाउँपालिकाले आयोजना गरेको यो प्रतियोगिता लोकप्रिय बनेको छ ।
Discussion about this post