बैशाख २०, सोलुखुम्बु । धरानको विभिन्न स्थानमा प्रहरीले छापा मारेर प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित ६ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा ठूलो मात्रामा लागुऔषधी र नगद बरामद गरिएको हो । बैशाख १९ गते राति पौने १२ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१ स्थित शीतल मार्गमा डेरा गरी बसेका भोजपुरका ३० बर्षिय सुजन श्रेष्ठ, १७ बर्षिय अंगत श्रेष्ठ र ३१ बर्षिय सागर राईले कोठाभित्र लुकाई राखिएको प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूबाट ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक गरी जम्मा १० हजार ३१५ चक्की औषधी, १.७६ ग्राम ब्राउन सुगर र नगद २ लाख ५३ हजार ७९६ बरामद गरेको जनाएको छ । त्यसैगरी, प्रहरीले सोही दिन धरान–१५ स्थित लक्ष्मण मार्गबाट धनुषा जनकपुर घर भई हाल डेरा गरी बस्दै आएका २५ वर्षीय राहुल शाह र उनकी श्रीमती २४ वर्षीया लक्ष्मी राईको कोठाबाट ५ हजार ५० क्याप्सुल ट्रामाडोल बरामद गर्दै दुवै जनालाई पक्राउ गरेको छ ।
त्यस्तै, धरान–१७ स्थित सियोन मार्गबाट ४० वर्षीया ममता भगतको कोठाबाट ६ हजार २८५ चक्की औषधी (ट्रामाडोल र स्पास्पेन) बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका सबै विरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Discussion about this post