भदौ ३१, सोलुखुम्बु । केही समयअघि सिन्धुली कारागारबाट फरार भएका कैदीहरूलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गर्ने कार्य तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको पछिल्लो विवरणअनुसार हालसम्म २४३ जना फरार कैदीहरू पुनः पक्राउ परेका हुन् ।
कारागारमा भएको सुरक्षा कमजोरीकै कारण कैदीहरू बाहिरिन सफल भएको अनुमान गरिएको छ । फरार भएपछि उनीहरू जिल्लाका विभिन्न गाउँ, बस्ती र सडक क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । सुरक्षाकर्मीले रातदिन नगर, गाउँ र सीमा क्षेत्रमा खोजतलासलाई तीव्र बनाएपछि कैदीहरू एकपछि अर्को गर्दै समातिन थालेका छन् । पक्राउ परेकालाई फेरि सिन्धुली कारागारमा पठाउने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
अझै केही कैदी फरार रहेको र उनीहरूको खोजी निरन्तर जारी रहेको प्रहरीले स्पष्ट पारेको छ । यस घटनाले कारागार व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ भने स्थानीयवासीमा पनि असुरक्षाको भावना बढेको छ । सिन्धुली कारागार प्रशासनले सुरक्षा कमजोरीका कारण उत्पन्न भएको यस घटनाबारे छानबिन भइरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ ।
Discussion about this post