असोज ११, सोलुखुम्बु । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने उल्लेख छ। पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने हुन्छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने १६ वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान तथा पिण्डदान गरी श्रद्धापूर्वक सम्झिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यस अवधिलाई अपर पक्ष तथा प्रेत पक्षका नामले समेत चिनिन्छ।वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयज्ञादि तथा अन्य ठूला धार्मिक कार्य गर्नुअघि दिवङ्गत पितृलाई श्रद्धा र भक्तिपूर्वक सम्झिने गरिन्छ।
धार्मिक मान्यताअनुसार सोह्र श्राद्धको समयमा पितृ आफ्ना सन्तानबाट गरिने श्राद्ध तथा तर्पणको अपेक्षामा रहने विश्वास गरिन्छ। सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट समेत मुक्त भइने धार्मिक विश्वास रहेको छ। आगामी १६ दिनसम्म विभिन्न तिथिअनुसार पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने गरिन्छ।










Discussion about this post