असोज ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ साल्मे क्षेत्रमा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएमा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने सडकखण्ड मर्मत गरी सञ्चालनमा ल्याइएको छ । थुलुङ दूधकोशी गाउँपालिकासँगको सहकार्यमा सोलुदूधकुण्ड नगरपालिका हुँदै सल्लेरी–तुम्सेडाँडा–कागेल–पञ्चन–ठूलाढुङ्गा–तिङ्ला–रमितेस्थित सिद्धिचरण लोकमार्गमा जोडिने वैकल्पिक सडकखण्डको मर्मत गरिएको हो ।
निरन्तरको वर्षाका कारण साल्मे क्षेत्रमा सिद्धिचरण लोकमार्ग अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक सडकलाई समेत तत्काल प्रयोग गर्न सकिने गरी मर्मत गरिएको जनाइएको छ । असोज १० गतेदेखि सडकको आवश्यक मर्मत तथा सुधारको काम गरी यातायात सञ्चालनयोग्य बनाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले जानकारी दिनुभयो ।
साल्मे क्षेत्रमा सडक अवरुद्ध भएको अवस्थामा सोलुखुम्बुबाट काठमाडौँतर्फ तथा काठमाडौँबाट सोलुखुम्बुतर्फ आवतजावत गर्ने सवारीसाधनले उक्त वैकल्पिक सडक प्रयोग गर्न सक्नेछन् । वर्षाका कारण मुख्य सडकखण्डमा पहिरो तथा सडक भासिने समस्या देखिएपछि जिल्लामा सडक सम्पर्क सहज बनाउन वैकल्पिक मार्गलाई प्राथमिकतामा राखेर मर्मत गरिएको सम्बन्धित पक्षले जनाएको छ ।











Discussion about this post