असाेज १०, सोलुखुम्बु । लगातारको वर्षाका कारण सोलुखुम्बुमा पहिरो र सडक अवरोधसँगै विद्यालय तथा घरहरूमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानमा भएका विपद्का घटनामा १२ घर र एक ग्यारेज उच्च जोखिममा परेका छन् भने ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार सोलुदुधकुण्ड नगरपालिका–८ आङ्पाङस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयको माथिबाट पहिरो खस्दा विद्यालयका दुईवटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पहिरोमा ती कोठाभित्र रहेका १४ वटा कम्प्युटर, दराज र टेबलसमेत क्षति भएको प्रहरीले जनाएको छ।
यस्तै, सोलुदुधकुण्ड नगरपालिका–२ जुनबेँसीमा चुङ्बा छिरिङ लामाको घरमाथिबाट पहिरो खसेर घर जोखिममा परेको छ। तत्कालै घर स्थानान्तरण गर्नुपर्ने अवस्था नरहे पनि जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–३ फलामखानी नजिक सल्लेरी आउने सडकमा तीनदेखि चार स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। स्थानीय तह तथा अन्य निकायको समन्वयमा अवरुद्ध सडक खुलाइएको प्रहरीले जनाएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–१ पैयामा ङिमा दोर्जे सडकखण्डमा माथिबाट पहिरोसँगै ढुंगा खस्दा खरिखोलाबाट खुम्बु पासाङल्हामु–२ सुकेतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउन गाउँपालिका तथा वडा कार्यालयसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
महाकुलुङ गाउँपालिका–१ छेक्मामा पनि पहिरोले भित्री सडक अवरुद्ध पारेको छ। बुङ बजारदेखि साब्दीतर्फ जाने कच्ची सडकमा करिब १०० मिटर माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरोको जोखिममा परेको बलजित राईको परिवारका तीन सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानान्तरण गरिएका उनीहरूलाई सोही क्षेत्रमा रहेको अर्को घरमा राखिएको प्रहरीले जनाएको छ। पालिकाको जेसीबी प्रयोग गरी सडक खुलाउने कामसमेत गरिएको छ।
प्रहरीको तथ्यांकअनुसार असोज १० गतेसम्म जिल्लाभर १२ घर र एक ग्यारेज गरी १३ वटा संरचना उच्च जोखिममा छन्। विपद्को जोखिमका कारण १९ महिला र २० पुरुष गरी ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
यसैबीच, दलित जागरण सेवा समाजको एउटा भवनसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण तथा मुख्य सडकमा पहिरो खस्ने क्रम बढेपछि आवागमन प्रभावित भएको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा सम्भावित पहिरो र बाढीको जोखिम रहेका स्थानमा सुरक्षित रहन आग्रह गरेको छ।










Discussion about this post