असोज १०, सोलुखुम्बु । निरन्तरको वर्षाका कारण सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका तीन वटा वडामा शुक्रबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नगरपालिकाको वडा नं. ८, ९ र १० मा विभिन्न स्थानमा पहिरो जानुका साथै विद्युत्का पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सोलुखुम्बुका प्रमुख लालबहादुर लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी विद्युत्का पोल वडा नं. ९ मा ढलेका छन् ।
बाघखोर, केरुङ, सिसाफेदी र छेवारलगायतका स्थानमा पहिरो गएकाले प्राविधिक टोली मर्मतका लागि प्रभावित क्षेत्रमा पुग्न सकेको छैन । निरन्तर वर्षाका कारण सडकसमेत प्रभावित भएकाले मर्मत कार्यमा समस्या भएको प्राधिकरणले जनाएको छ । विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली तयारी अवस्थामा रहे पनि पहिरो पन्छाएर बाटो खुलेपछि मात्र मर्मत कार्य अघि बढाउन सकिने जनाइएको छ ।
यता सम्बन्धित वडाध्यक्षहरूले पहिरो पन्छाउने कार्यका लागि पहल भइरहेको जनाएका छन् । मौसम अनुकूल रहेमा आइतबार देखि पहिरो हटाउने काम सुरु गरिने र त्यसपछि विद्युत् मर्मतको काम अघि बढाइने बताइएको छ ।











Discussion about this post