भदौ १०, सोलुखुम्बु । खुम्बु क्षेत्रमा पर्यटकीय सिजन सुरु भइरहँदा प्रतिकूल मौसमले लुक्लाको हवाई सम्पर्क प्रभावित भएको छ। लगातारको वर्षा र कमजोर दृश्य क्षमताका (भिजिविलीटी) कारण काठमाडौं–लुक्ला उडान शुक्रबारदेखि लगातार दोस्रो दिन पनि सञ्चालन हुन नसक्दा काठमाडौं र लुक्ला दुवैतर्फ गरी करिब ७ सय यात्रु उडानको प्रतीक्षामा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लुक्ला जाने यात्रुमध्ये ठूलो संख्या विदेशी पर्यटकको छ । सेप्टेम्बरदेखि अक्टोबर अर्थात् असोज–कार्तिक खुम्बु क्षेत्रमा पदयात्राका लागि मुख्य पर्यटकीय समय मानिन्छ।
यही समयमा विदेशी पर्यटकहरू सगरमाथा आधार शिविर, कालापत्थर र गोक्यो लगायतका गन्तव्यतर्फ जाने गर्छन्। तर पर्यटकको आवागमन बढ्ने समयमै हवाई सेवा प्रभावित भएपछि यात्रुको यात्रा तालिका प्रभावित भएको छ। सामान्य अवस्थामा पर्यटकीय सिजनमा काठमाडौं–लुक्ला रुटमा दैनिक कम्तीमा २५ उडान हुने गरेको बताइएको छ। अक्टोबरमा पर्यटकको चाप बढेसँगै उडान संख्या थपिने गर्छ। यसपटक समस्या थप जटिल हुनुको अर्को कारण रामेछापको मन्थलीबाट लुक्ला सञ्चालन हुने वैकल्पिक उडान पनि उपलब्ध नहुनु हो। विगतमा काठमाडौं विमानस्थलमा हवाई चाप बढ्दा वा मौसमका कारण काठमाडौं–लुक्ला उडान प्रभावित हुँदा मन्थली–लुक्ला रुटलाई वैकल्पिक हवाई मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो।
तर अहिले उक्त विकल्प सञ्चालनमा नरहेकाले काठमाडौं–लुक्ला उडान प्रभावित हुँदा यात्रुसँग अर्को नियमित हवाई विकल्प छैन।काठमाडौं–लुक्ला रुटमा तारा एयर, सीता एयर र समिट एयरले सेवा दिँदै आएका छन्। लगातारको खराब मौसमका कारण उडान हुन नसक्दा काठमाडौंमा लुक्ला जाने यात्रु र लुक्लामा काठमाडौं फर्किने यात्रु रोकिएका छन्। यसअघि शुक्रबार पनि खराब मौसम र कमजोर भिजिबिलिटीका कारण लुक्लासहित पोखरा, भरतपुर र सुर्खेतका उडान प्रभावित भएका थिए।
त्रिभुवन विमानस्थलले मौसमका कारण निर्धारित उडान रद्द, ढिला वा पुनः तालिका निर्धारण हुन सक्ने जनाएको थियो। खुम्बु क्षेत्रमा पछिल्ला दिनमा वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। मौसम प्रतिकूल रहेकाले उडानसँगै पदयात्रा तथा पर्यटक आवागमनमा समेत असर परेको छ।
पछिल्लो विवरणअनुसार गोक्यो, गोरक्सेप र डिङबोचेलगायत उच्च क्षेत्रमा हिमपात भएको छ। लुक्ला खुम्बु क्षेत्रको प्रमुख हवाई प्रवेशद्वार भएकाले यहाँको उडान अवरोधले पर्यटकको यात्रा मात्र होइन, स्थानीय पर्यटन व्यवसायसँग जोडिएको आवागमनमा समेत प्रत्यक्ष प्रभाव पार्ने अवस्था देखिएको छ।











Discussion about this post