असाेज ११, साेलुखुम्बु । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको नेतृत्व चयनमा देखिएको लामो समयको अन्योल चार दिनपछि टुंगिएको छ। नेतृत्वका आकांक्षीबीच सहमति जुटाउन निरन्तर भएको छलफलपछि रामचन्द्र राईको नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। नगर सभापतिका लागि रामचन्द्र राईसँगै प्रकाशकुमार श्रेष्ठसहितका आकांक्षी रहेपछि नेतृत्व चयनमा सहमति जुटाउन पटक–पटक छलफल भएको थियो।
चार दिनसम्म चलेको संवाद र आन्तरिक छलफलपछि अन्ततः आकांक्षी तथा नेता–कार्यकर्ताबीच सहमति कायम भएको कांग्रेसले जनाएको छ। सहमतिको आधारमा राई नगर सभापतिमा चयन भएका हुन्। नयाँ कार्यसमितिको उपसभापतिमा राजकुमार कटुवाल र महिला उपसभापतिमा मनिला राई चयन भएका छन्। सचिवमा सागर खनाल तथा सहसचिवमा धनबहादुर श्रेष्ठ चयन भएका छन्। नेतृत्व चयनमा लामो समयसम्म सहमति नजुट्दा नगर अधिवेशनको प्रक्रिया केही अन्योलमा परेको थियो। तर, आकांक्षीबीचको संवादलाई निरन्तरता दिँदै सहमतिको प्रयास गरिएपछि निर्वाचनमा जानुपर्ने अवस्था टरेको हो।
सहमतिको माध्यमबाट नेतृत्व चयन भएसँगै दिक्तेल कांग्रेसभित्रको तत्कालीन नेतृत्वसम्बन्धी अन्योल हटेको छ। अब नयाँ कार्यसमितिसामु संगठनलाई चलायमान बनाउने, स्थानीय तहमा पार्टीको संगठन विस्तार गर्ने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी आएको कांग्रेसका स्थानीय नेता–कार्यकर्ताको भनाइ छ। चार दिनको छलफलपछि नेतृत्व चयनमा सहमति जुट्नुले दिक्तेल कांग्रेसभित्र प्रतिस्पर्धाका बीच संवाद र सहमतिबाट नेतृत्व टुंग्याउने अभ्यासलाई समेत देखाएको छ।










Discussion about this post