असोज ११, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुमा प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन तथा संघीय महाधिवेशन प्रतिनिधि निर्वाचनको तयारी तीव्र बनेको छ। असोज १२ र १३ गते सोमबार र मंगलबार हुने अधिवेशनलाई लिएर जिल्ला सदरमुकाम सल्लेरी यतिबेला कांग्रेस नेताको चहलपहलले तातेको छ।
जिल्लाका विभिन्न पालिका तथा वडाबाट आएका कांग्रेस नेता तथा प्रतिनिधिहरू सल्लेरीमा केन्द्रित भएका छन्। अधिवेशनलाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न नेताहरूबीच भेटघाट, छलफल तथा समन्वय तीव्र भएको देखिन्छ।
सोलुखुम्बु कांग्रेसमा दुई धारबाट समानान्तर रूपमा अधिवेशन अघि बढाउने परिस्थिति बने पनि जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेताहरूले बताएका छन्। विशेषगरी गगन पक्षीय नेताहरू अधिवेशनलाई सकेसम्म विवादरहित र सर्वसम्मत ढंगले टुंग्याउने कसरतमा देखिएका छन्।
कांग्रेसका जिल्ला सचिव युवराज घिमिरेका अनुसार हालसम्म अधिकांश पालिका तथा वडा तहका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएकाले जिल्लामा तिक्तताको अवस्था देखिएको छैन। उहाँले सोलुखुम्बु कांग्रेस अहिले एकढिक्का रहेको दाबी गर्दै आगामी अधिवेशनमा पनि समूह तथा उपसमूहको अभ्यासभन्दा सहमति र सहकार्यलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार तल्लो तहमा देखिएको सहमतिको अभ्यासलाई प्रदेश निर्वाचन क्षेत्र तथा महाधिवेशन प्रतिनिधि छनोटमा समेत निरन्तरता दिने प्रयास भइरहेको छ।
यता कांग्रेस नेता पुष्कर बास्तोलाले पार्टी अहिले चित्र र चरित्र दुवै पक्षमा परिवर्तनको संघारमा रहेको बताउनुभएको छ। उहाँले आगामी अधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नभई पार्टीभित्रको रूपान्तरणसँग जोडिएको अधिवेशनका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
सोलुखुम्बु कांग्रेसमा यसपटकको अधिवेशनले नयाँ नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनसँगै पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनसमेत देखाउने अपेक्षा गरिएको छ। दुई धारबीचको प्रतिस्पर्धाका बीच नेतृत्व चयन सर्वसम्मत हुन्छ वा निर्वाचन प्रक्रियामा जान्छ भन्ने विषयले अहिले जिल्लाको राजनीतिक वृत्तमा चासो बढाएको छ।
असोज १२ गते मनोनयन दर्ता तथा निर्वाचन प्रक्रिया अघि बढ्ने र असोज १३ गते निर्वाचन हुने कार्यतालिका रहेको छ। अधिवेशनलाई लक्षित गर्दै सल्लेरीमा कांग्रेस नेता, प्रतिनिधि तथा आकांक्षीहरूको भेटघाट र छलफलले तीव्रता पाएसँगै सदरमुकामको राजनीतिक गतिविधि समेत बढेको छ।











Discussion about this post