कार्तिक ११, सोलुखुम्बु । २४ घण्टा पछि खुम्बु क्षेत्रमा हिमपात रोकिएको छ । मौसममा बदली आएसँगै हिजो साँझबाट लगातार सगरमाथा क्षेत्रमा परेको हिमपात आज साँझ ५ बजेबाट पूर्ण रुपमा रोकिएको हो । दिङबोचे भन्दा माथिको क्षेत्रमा डेढ फिट बाक्लो हिउँ जमेको छ भने साँझ बाट मौसममा सुधार आएको सगरमाथा प्रदुषण नियन्त्रण समिति(एसपिसिसि) का अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।
माथिल्लो क्षेत्रमा हिमपात रोकिएसँगै हिमाल र आकाश दुवै खुल्ला भएको र पर्यटकलाई भने होटल भित्र नै बस्ने गरि सूचना जारी गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपि मनोजित कुँवरले बताउनुभयो । डिएसपि कुँवरका अनुसार अहिले हिमपातका कारण सगरमाथा क्षेत्रमा ५ सय बढी पर्यटक होटल भित्रै बस्न बाध्य भएका छन् । दिङबोचे क्षेत्रमा २ सय, लोबुचेमा २ सय १२ र गोरक्क्षेपमा १ सय २२ जना विदेशी पर्यटक होटलहरुमा सुरक्षित रुपमा बसेको प्रहरीले जनाएको छ । उनीहरुलाई मौसममा पूर्ण सुधार नआएसम्म घरबाहिर ननिस्कन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ । त्यस्तै नाम्चे भन्दा मुनिको क्षेत्रमा विहानै देखि परेको अविरल बर्षा पनि रोकिएको छ । अहिले नाम्चेको मौसम सफा रहेको र बादलरहित निलो आकाश देखिएको स्थानीय छिमिकाल्देन शेर्पाले बताउनुभयो ।
यता खुम्बु क्षेत्रमा मौसम विग्रिएको भन्दै पद यात्रामा रहेका पर्यटकहरुलाई स्थानीय प्रशासन र स्थानीय सरकारले उच्च सतर्कता अपनाउन अपिल जारी गरेका छन् । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले पदयात्रा र पर्यटन क्षेत्रमा विशेष सतर्कता अपनाउन सार्वजनीक सूचना नै जारी गर्नुभएको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाले पनि सूचना जारी गर्दै पर्यटकलाई सतर्कता अपनाउन आग्रह गर्दै विपद भईहालेमा सहयोग गर्न स्थानीय सरकार तयार रहेको सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए । प्रमुख प्रशाकीय अधिकृत गौतमका अनुसार अहिलेसम्म विपदका घटना भएका छैनन् ।
उता मौसम पुर्वानुमान महाशाखाले भने भोली एक दिन मौसममा सूधार आए पनि पर्सिबाट भने हिमपातको संभावना रहेको जनाएको छ । मौसमविद डेभिड ढकालले पर्सिको दिन बाट सगरमाथा क्षेत्रमा ठूलो हिमपातको संभावना रहेको बताउनुभएको छ । पर्सिको दिनबाट थप सजगता अपनाउन मौसमविद ढकालको सुझाब छ ।










Discussion about this post