कार्तिक १४, सोलुखुम्बु । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा कम हुँदै गए पनि, देशका विभिन्न क्षेत्रमा हालै परेको वर्षाले किसानहरूलाई सतर्क बनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानहरूलाई हतारमा धान काट्न र भित्र्याउन नहुने स्पष्ट सल्लाह दिएको छ । केन्द्रका प्रमुख डा. तुलसीप्रसाद पौडेलका अनुसार, धानखेतमा पानी जमेको खण्डमा तत्काल निकासको व्यवस्था गर्नु अत्यावश्यक छ।
“पाकेको धान, तरकारीबाली वा फलफूल बगैँचामा पानी जमेको भए त्यसलाई सही समयमा निकास गर्नु महत्त्वपूर्ण हुन्छ,” उहाँले बताउनुभयो। यसका लागि खेतमा कुलेसो काट्ने वा पानी बाहिर पठाउने उपाय अपनाउन सकिन्छ । ध्यान दिनुपर्ने अर्को कुरा, हाल मौसम सुधार भइसकेको छैन र खेतमा पानीको मात्रा अझै धेरै रहन सक्ने भएकाले धान काट्ने हतारो नगर्न केन्द्रले सुझाव दिएको छ। पानी पर्न रोकिएपछि ३–४ दिन मौसमको स्थिति हेरेर काट्न सुरु गर्न सकिने बताइएको छ।
यस्तै, कतिपय किसानले पहिले नै धान भित्र्याइसकेका छन् भने केहीको धान अहिले परेको पानीले भिजेको छ। यस अवस्थामा पाँजालाई सुरक्षित राख्न, ओभानो गरी राख्न र खेतको पानी बेलैमा कटाउन विज्ञहरूले अनुरोध गरेका छन्।
अतिरिक्त सुझावका रूपमा, यस बेला तरकारीबाली र फलफूलमा विषादी छर्कन नहुने, पशुचौपायाको दानालाई पनि सुरक्षित स्थानमा राख्ने र आगामी हिउँदमा हुने खेतीबालीका लागि अहिलेको वर्षा र हिमपातले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। केन्द्र र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा जारी कृषि मौसम सल्लाह बुलेटिनले किसानहरूलाई समयमै सचेत गराउँदै सुरक्षित व्यवस्थापनमा सहयोग पुर्यारहेको छ ।











Discussion about this post