मंसिर २६, सोलुखुम्बु। माओवादी केन्द्र र अन्य दलबीच सोलुखुम्बुमा जिल्ला–स्तरीय एकता भेला हुने भएको छ । मंसिर २३ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच भएको संयुक्त भेला तथा केन्द्रीय सदस्यहरूको छलफलपछि एकता भेला गर्ने निर्णय गरिएको हो । एकता भेला आगामी पुस १ गते मंगलबार जिमी राई उत्थान समाज स्थानीय समितिको सभाहलमा गरिने जनाइएको छ ।
पुस १ गते आयोजना हुने उक्त भेलामा सबै सम्बन्धित संरचनाका पदाधिकारी तथा सदस्यलाई अनिवार्य रूपमा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सोलुखुम्बुले निर्देशन दिएको छ । निर्देशनअनुसार जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्य, केन्द्रीय परिषद् सदस्य, केन्द्रीय आयोग तथा निकायका सदस्य, प्रदेश कमिटी तथा प्रदेश परिषद् सदस्य, जिल्ला समन्वय समिति सदस्य, नगर तथा गाउँपालिका कमिटीका पदाधिकारी–सदस्य, जनवर्गीय तथा मोर्चासम्बद्ध केन्द्रीय, प्रदेश र जिल्ला तहका पदाधिकारी–सदस्यले अनिवार्य रूपमा सहभागी हुनुपर्ने उल्लेख छ ।
माओवादी केन्द्र सोलुखुम्बुका जिल्ला संयोजक नाम्गेल शेर्पाले जारी गरेको विज्ञप्तिमा संगठनात्मक एकता र समन्वयलाई सुदृढ बनाउन यस बैठकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहितका दश वाम दलले कात्तिक १९ गते संयुक्त रूपमा एकता घोषणा गर्दै ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेका थिए । यस्तै, केन्द्रमा जस्तै सोलुखुम्बु जिल्लामा पनि एकता गरेका सबै दलबीच एकता भेला हुने वाइसीएलका केन्द्रीय सचिवालय सदस्य तथा सोलुखुम्बु जिल्ला इञ्चार्ज रस्विन मगरले जानकारी दिनुभयो ।











Discussion about this post