माघ १३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका मतदात स्थल निरीक्षण सुरु गरिएको छ । जिल्ला सुरक्षा समिति सोलुखुम्बुको टोलीले मतदानस्थलको स्थलगत निरीक्षण गरेको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी पाण्डेसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले सोलुदुधकुण्ड नगरपालिका १, माप्यदुधकोशी गाउँपालिका १ र खुम्बु पासाङल्हामु गाउँपालिका १ का मतदानस्थलको स्थलगत निरीक्षण गर्नुभएको हो ।
सुरक्षा निकायका प्रमुखसहित मतदानस्थलको स्थलगत निरिक्षण क्रममा अवस्था सामान्य देखिएको छ भने विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल समेत गरिएको छ । जिल्ला सुरक्षा समितिको टोलीले जिल्लाका सबै मतदानस्थलको निरीक्षण गर्ने प्रजिअ पाण्डेले बताउनुभयो । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसै अनुरुप सुरक्षाको व्यवस्था मिलाइएको छ । प्रहरीका अनुसार १२४ मतदानस्थल मध्ये १० मतदानस्थललाई अतिसंवेदनशील, ४१ मतदानस्थल संवेदनशील र ७३ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सुरक्षाको तयारी गरेको जानकारी दिनुभयो । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।











Discussion about this post