१३ माघ, साेलुखुम्बु । मगर दम्पतीको हत्या भएको घटना सेलाउन नपाउदै ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ। भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो । वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनाबारे जानकारी दिँदै आफू नेतृत्वको टोली घटनास्थलतर्फ लागेको बताउनुभयो ।
एक महिना अघि पनि यही चिशंखुगढी भदौरेमा करिब ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेर अनुसन्धान भइरहेको बेला फेरि अर्को हत्याको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन् । लगातार भएका हत्या घटनाले भदौरे क्षेत्रमा सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।










Discussion about this post